संयुक्त राष्ट्रसंघले चीनको सिन्जियाङ क्षेत्रमा मानवता विरुद्धका अपराध भएको प्रमाणहरू फेला परेको जनाएको छ । ती क्षेत्रमा उइगुर मुस्लिम समुदायका बन्दी शिविरमा भएको र मानव अधिकार उल्लंघनका गम्भीर अपराध मानवता विरुद्धका अपराध समेत हुनसक्ने राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले उइगुर मुस्लिम समुदायविरुद्ध यातना तथा यौन दुर्व्यवहार गरिएका विवरण तथ्यपरक भएको जनाएको छ । राष्ट्रसंघले चीनलाई सिन्जियाङमा बन्दी शिविरमा रहेका सबैलाई रिहा गरी अन्तर्राष्ट्रिय कानुनको पालना गर्नसमेत आग्रह गरेको बीबीसीले जनाएको छ । प्रमुख उच्चायुक्त मिसेल ब्याचलेटको कार्यकाल सकिनु केही मिनेटअघि मात्र प्रतिवेदन बाहिर ल्याइएको हो ।
सिन्जियाङमा १० लाखभन्दा बढी मुस्लिम समुदायका मानिसलाई बन्दी बनाइएको दाबी चीनले अस्वीकार गर्दै आएको छ । बन्दी शिविरमा मानवताविरुद्धका अपराध हुने किसिमका यातना दिइएको ‘विश्वसनीय प्रमाण फेला परेको’ अनुसन्धानकर्ताहरूको दाबी छ । बन्दीहरूमाथि ‘शृंखलाबद्ध रूपमा दुर्व्यवहार र यौन तथा लैंगिक हिंसाका घटना’ भएको प्रतिवेदनमा उल्लेख छ । चीनले राष्ट्रिय सुरक्षा कानुनको आडमा अल्पसंख्यकहरूको अधिकार उल्लंघन गर्ने गरेको उनीहरूको भनाइ छ ।