दार्चुला । दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमवार महाकाली नगरपालिका-८ असिगडा र भारतको धारचुला मल्ला छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
मोटरेबल पुलको एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । भारतीय पक्षले निर्माण गर्ने १ सय १० मिटर लम्बाइको उक्त मोटरेबल पुलको शिलान्याससँगै नेपालको व्यापार, पर्यटन र रोजगारीमा टेवा पुग्ने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडूले पुलको निर्माणले दुई देशको जनस्तरको सम्बन्ध सुदृढ गर्नुका साथै पहाडी जिल्लाको निम्ति प्रवेशद्वार बनेको बताए ।
‘सुदूरपश्चिमका पहाडी जिल्लाको पहिलो मोटरेबल पुल निर्माण हुदैछ’ मन्त्री बडूले भने- यसले सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईसित व्यापारको ढोका खोल्छ, यहाँका कृषकका उत्पादन र जडीबुटी निर्यात हुन्छ, यत्ति मात्रै होइन यसले चीनसँगको व्यापार पनि बढ्छ ।’
नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माण पश्चात् जिल्लाको व्यापार, पर्यटन र कृषिमा वृद्धि हुने उनले बताए । दार्चुला जिल्ला चीनसँग सिमाना जोडिएको जिल्ला भएकाले पनि पुल निर्माण पछि त्रिपक्षीय व्यापारमा वृद्धि हुने मन्त्री बडूको भनाइ थियो । व्यापारिकसँगै नेपाल-भारतका नागरिक बीच सामाजिक सम्बन्ध जोड्न यो पुल सजिलो हुने स्थानीयको बुझाइ रहेको छ ।
करिब ३३ करोड भारतीय लगानीमा निर्माण हुने पुलको लम्बाइ ११० मिटर छ । पुल शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका डीसीएम प्रशान्त श्रीवास्तव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।