काठमाडौं । नेपाली कांग्रेसको अगुवाइमा नेपालमा पहिलोपटक शक्ति सन्तुलन भएको छ । संविधान निर्माणपछि शक्ति सन्तुलन हुन नसक्दा असमझदारी र स्वेच्छाचारिता बढेको थियो ।
केपी ओलीको पालामा तत्कालीन नेकपाले सबै शक्ति आफूमा केन्द्रीत गर्दा प्रधानमन्त्रीका रुपमा ओलीले एकलौटी गरेका थिए । संसद विघटनसम्मको स्थिति, आन्दोलन र सर्वोच्च अदालतको परमादेशसम्मको अवस्था शक्ति सन्तुलन नहुँदा आएको थियो ।
अहिले पनि ओलीले शक्ति आफूमा केन्द्रित गर्न खोजेका थिए । आफ्नो सभामुख, आफ्नो राष्ट्रपति र त्यसपछि आफै प्रधानमन्त्री बनेर एकलौटी राज्य चलाउन खोजेका थिए । तर ओलीको त्यो स्वेच्छाचारिताको प्रयासलाई कांग्रेसले सफल हुन दिएन ।
२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर शक्ति सन्तुलन अर्थात राष्ट्रिय सहमतिको राजनीतिको बाटो खोल्यो । ५ माघमा एमालेबाट सभामुख देवराज घिमिरे चयन भए । ७ माघमा रास्वपाकी इन्दिरा राना उपसभामुख बनिन् । २३ माघमा माओवादीकी उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष बनिन् । अध्यक्ष एमालेबाट गणेश तिमिल्सिना छन् । २५ फागुनमा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति चुनिए । ३ चैतमा जसपाबाट रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिए ।
संसदको पहिलो दल कांग्रेसबाट राष्ट्रपति, दोस्रो दल एमालेबाट सभामुख, तेस्रो दल माओवादीबाट प्रधानमन्त्री, चौथो दल रास्वपाबाट उपसभामुख, छैठौ दल जसपाबाट उपराष्ट्रपति निर्वाचित भएर शक्ति सन्तुलन बन्नुमा कांग्रेसको ठूलो भूमिका रहेको नेता विरोध खतिवडाले बताए । एमालेले यो सन्तुलनमा नखेले देशमा स्थिरता हुने र कायापलटको दिशातिर अघि बढ्ने उनको भनाइ छ ।