जसपाले सुरुदेखि यथास्थितिमा सरकारको वजेटलाई पास हुन नदिने भन्दै आएको थियो । कार्यकारिणी समितिको बैठकबाट पनि यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको थियो । तर, असार १३ गते एकाएक संसदीय दलको बैठकबाट निर्णय गरेर बजेटलाई समर्थन गरेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतदेखि लिएर उनका पार्टीका अन्य नेताहरुले कडा आलोचना गरिरहेका छन् ।
दुवै दल एउटै गठबन्धनमा छन् तैपनि एक अर्काको विरोधमा उभिएका छन् । सप्तरी–२ मा उपेन्द्र यादवलाई सिके राउतले पराजित गरेपछि दुवैको दूरी बढेको थियो । तर जब उपेन्द्र यादव बाराबाट चुनाव जिते त्यसपछि झन् दुवै दलको बीचमा द्वन्द्व बढेको छ ।
त्यसअघि भएको राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको चुनावमा दुवै दल एक ठाउँमा उभिएनन् । जहाँ उपेन्द्र यादवले समर्थन गरे, त्यहाँ सिके राउतले विरोध गरे । जहाँ सिके राउतले समर्थन गरे, त्यहाँ उपेन्द्र यादवले विरोध गरे ।
हुँदा हुँदै बजेटमा पनि सिके राउतले बजेटको विपक्षमा उभिने निर्णय गर्ने लगत्तै जसपाले समर्थनमा उभिने निर्णय गर्यो । यो कुरालाई जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र उनका पार्टीका कार्यकर्ताले मधेसमा निकै प्रचार गरिरहेका छन् । जसपा संसदीय दलले जारी गरेको ह्वीपवाला पत्र नै सामाजिक सञ्जालमा राखेर खिल्ली उडाइ रहेका छन् ।
‘हामीले यथास्थितिमा बजेटलाई समर्थन गरेका होइनौं, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री डा.प्रकाशशरण महतले मधेसमा बजेट थप्ने प्रतिवद्धता जनाएपछि मात्र समर्थन गरेका हौं ।’ जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादव भन्छन्, ‘अरु दलले किन के का लागि विरोध गरिरहेका छन्, त्यो उनीहरुले नै जानुन् तर यथास्थितिमा हामीले बजेट समर्थन गरेका छैनौं ।’
कतिपय दलको जन्म विरोध गर्नका लागि नै भएकोे हो जस्तो लाग्छ, उसलाई विरोध गर्नमा नै मज्जा आउँछ भने त्यसमा आफूलाई केही भन्नु छैन तर जसपाले जन्माएको सरकार हो, त्यसलाई संरक्षण गर्ने, त्यसलाई बलियो बनाउने दायित्व पनि रहेको हुनाले त्यसअनुसार अगाडि बढेको प्रमुख सचेतक यादवको भनाई छ ।
जनमत पार्टीका नेता डा.शरद यादवले जसपाले मधेसी जनतालाई भ्रममा राख्ने काम गरेको टिप्पणी गरे । उनले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले सडकदेखि सदनसम्म जनमत पार्टीभन्दा कडा शब्दमा यो बजेटको विरोध गर्नुभएको छ । यथास्थितिमा कुनै पनि हालतमा पास हुँदैन भन्नुभएको छ । तर, एकदिनमै के चमत्कार भयो कि एकाएक बजेटलाई समर्थन गर्नुभयो ।’
आफूहरुले कुनै पार्टीको विरोध नगरेको, राजनीतिमा देखिएको गलत प्रवृत्तिको विरोध गरेको बताउँदै उनले जनताले पनि थाहा पाए कि संसदमा कुन दलले के गरिरहेका छन् ।
जसपाको संसदीय दलको बैठक चलिरहेकै ठाउँमा प्रधानमन्त्री प्रचण्ड गएका थिए । त्यसपछि मात्र उपेन्द्रले समर्थन जनाएका हुन् । यदि केही सहमति भएको छ भने त्यो बाहिर आउनु पर्यो वा बजेट संशोधन भएको छ भने त्यो पनि देखाउनु पर्यो । नभए प्रधानमन्त्री प्रचण्डको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको पुष्टि हुने उनको जिकिर छ । रातोपाटि