काठमाडौं – केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो ।
बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलि कम भएको थियो । पाँच महिनायता चिनियाँ नेताहरू नेपाल भ्रमणमा आएको आयै छन् । पछिल्लो समय चीनले नेपालमा महिनामा दुईवटा टोली भ्रमणमा पठाउने गरेको छ ।
सोही कारण चीनले अघोषित रूपमा नेपालमा राजनीतिक हस्तक्षेप गरिरहेको बुझाई कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन उडेको भोलिपल्टै बुधबार चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।
चिनियाँ सेनाको उक्त टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको हो । चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ । दुई साताअघि मात्रै उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएर फर्केको थियो । मिडिया डबली