ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ताला नाका चार वर्षदेखि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायले सास्ती खेप्नुपरेको छ।
कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो। सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो।
आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो।
सीमावर्ती क्षेत्र बस्ती याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामाग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन्। वर्षामा बाढी, पहिरोलगायतका कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन्।
फक्ताङलुङ–७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ९० प्रतिशत चीनको बजारमा निर्भर रहेको स्थानीयवासी छेतेन टाँसी शेर्पाले बताए। उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामाग्री चीनबाट आउन बन्द भएको छ। याक, चौंरीका लागि नुनदेखि अत्यावश्यक खाद्य सामाग्रीमा ल्याउन पाइएको छैन।’
नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको फक्ताङलुङ गाउँपालिका—७ का वडाध्यक्ष छेतेन भोटेले बताए। समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो। त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो।
लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामाग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए।
नाका बन्द भएपछि आर्थिक संकट हुँदै आएको चेम्जोङले बताए। चीनका विभिन्न बजारमा यहाँको चौंरी, याक तथा पशुजन्य खाद्य पदार्थहरुको प्रमुख बजार हो। पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेको चेम्जोङले बताए।
ओलाङचुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पु¥याएर राखिएको थियो। लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावा च्युङ्दाक शेर्पाले बताए।
लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ।
तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ। ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो। सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ।
सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पु¥याउन सकिन्छ। लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० सय मिटरसम्मको उचाइका बस्तीसम्म खाद्य सामाग्री ढुवानी गर्नुपर्छ। सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने स्थानियले बताए।
सिमानादेखि नजिकैका बस्ती याङ्माबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङ्गोलाबाट एक दिनमा पुगिन्छ। सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ। मर्मतसम्भार हुन सकेको छैन। चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन्।