काठमाडौँ — विद्युतीय चुरोट (भेप), सवारीसाधनका ब्रेक सु, इलेक्ट्रिक सेभरलगायतमा लुकाएर छुट्टाछुट्टै सुन तस्करी गरेका दुवै गिरोह एउटै समूहका रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।
चीन, हङकङ र दुबईमा रहेका तस्करले विद्युतीयसँगै अन्य उपकरणमा जडान गरेर अवैध सुन ल्याउने गरेको पाइएपछि दुवैमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । भेपमार्फत सुन तस्करी गरेका मुख्य नाइके दावाजिन वाङ र ब्रेक सुमार्फत तस्करी गरेका नाइके दावा छिरिङबीच पटक–पटक सम्पर्क हुने गरेको फेला परेको हो । दुवै जनाको सत्तारूढ माओवादीका शीर्ष तहका नेतासँग निकट सम्बन्ध रहेको यसअघि नै पुष्टि भइसकेको छ । दावाजिन र दावा छिरिङले भेपको आवरणमा २०७९ पुस १० मा दुबईबाट ९ केजी सुन र ब्रेक सुमा लुकाएर २०८० असार २९ मा हङकङबाट करिब ६१ केजी सुन भित्र्याएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।
दुवै प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । ‘दावाजिन र दावा छिरिङ सुन तस्करीमा संलग्न एउटै नेटवर्कअन्तर्गतका हुन्, अनुसन्धानका क्रममा खुलेका तथ्यले उनीहरू एउटै समूहमा बसेर धन्दा चलाउने गरेको देखिन्छ,, सीआईबी उच्च स्रोत भन्छ, ‘अनुसन्धान जारी रहेकाले टुंगामा नपुगुञ्जेल अझै थप तथ्यहरू आउन सक्छन् ।’ सुन भित्रिएपछि गन्तव्यसम्म नपुगुञ्जेल व्यवस्थापनमा परिचालन गर्ने समूहबारे पनि दुई जनाबीच कुराकानी हुने गरेको भेटिएको हो । दावाजिन हाल फरार छन् । दावा छिरिङ सीआईबीको नियन्त्रणमा छन् । पक्राउ परेका तस्करका केही सहयोगीले पैसाको प्रलोभनमा परेर आफूहरूले काम गरेको बयान दिएका छन् ।
सीआईबी प्रमुख एआईजी किरण वज्राचार्यले भेप, ब्रेक सुलगायतमा लुकाएर सुन ल्याउने समूह एउटै भएको केही आधारहरू भेटिएको बताइन् । ‘अनुसन्धानका क्रममा रहेको विषय भएर धेरै कुरा भन्न मिल्दैन तर भेप र ब्रेक सुलगायत वस्तुमा लुकाएर सुन ल्याउने समूह एउटै हुने प्रमाण देखिएका छन्,’ एआईजी वज्राचार्यले भनिन्, ‘तथ्य र प्रमाणलाई बलियो बनाएर अपराधमा संलग्नलाई कानुनी कारबाही हुने गरी छिट्टै अनुसन्धानलाई टुंगोमा पुर्याउँछौं ।’ उनले भेप र पछिल्लो पटक ६१ केजीसँग जोडिएको ब्रेक सु प्रकरणमा भिन्नाभिन्नै तहबाट अनुसन्धान भइरहेको पनि बताइन् ।
दावाजिन वाङ र दावा छिरिङले चीनमा एमबीबीएस अध्ययन गरी आएका केही चिकित्सकमार्फत पनि आपराधिक धन्दा चलाएको हुन सक्ने र त्यसका केही ‘क्लु’ फेला परेको उच्च स्रोत बताउँछ । ‘चीनमा एमबीबीएस सकेर आएका चिकित्सकमार्फत पनि यो गिरोहले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग सम्पर्क कायम गरेको देखिन्छ ।’ दावाजिन वाङको पूर्वसभामुख कृष्णबहादुर महराको परिवारसँग निकट सम्बन्ध रहेको पुष्टि भइसकेको छ । तस्करी आरोपमा हाल सीआईबीको नियन्त्रणमा रहेका तिब्बती मूलका बेल्जियन नागरिक दावाको पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनको परिवारसँग चिनजान र सम्बन्ध रहेको यसअघि नै खुलिसकेको छ ।
दावा छिरिङकी पत्नी अमला रोकामगर सञ्चालक रहेको ठमेलको भियाना होटलमा वर्षमानका भाइ प्रनिशको पनि स्वामित्व रहेको भेटिएको छ । भियानाकी सञ्चालक अमला भने फरार छिन् । अनुसन्धान स्रोतका अनुसार दावाजिन र दावा छिरिङ नै तस्करीको सुन व्यवस्थापन गर्ने मुख्य तस्कर रहेको देखिन्छ । यी दुईकै योजनाअनुसार सेटिङमा भन्सारबाट सुन पास गराएर काठमाडौंमा रहेका विभिन्न चिनियाँका अखडा हुँदै अवैध कारखानामा पगालेर निकाल्ने अनि ‘गन्तव्य’ सम्म पुर्याउने गरेको भेटिएको हो ।
भेप प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुल केही दिनअघि पक्राउ परिसकेका छन् । पूर्वसभामुख महरा पनि यो प्रकरणमा अनुसन्धानको दायरामा तानिएका छन् । सुन लुकाइएका भेप भन्सारले नियन्त्रणमा लिएपछि वाङ र अर्का एक चिनियाँ तस्कर ४ महिनाअघि नै भागेका थिए । दावाजिनको पूर्वसभामुख महरासँग निकट सम्बन्ध रहेको खुलेको थियो । दावाजिन र उनको नेटवर्कमा काम गर्ने व्यक्तिसँग महराका बाबुछोराले सुन छुटाउन २ सय ५६ पटक फोन गरेको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । नियन्त्रणमा लिइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको गोदामबाटै चोरी भएको थियो । सुन चोरी प्रकरणमा भन्सारका कर्मचारीसहित नौ जनाविरुद्ध गत असार २७ मै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।
हाल प्रहरी नियन्त्रणमा रहेका दिलीप भुजेलले तस्करीको सुन ल्याउनकै लागि आफ्नो नाममा रेडी ट्रेड नामको कम्पनी खोलेको र त्यसबापत आफूले १ लाख ५० हजार रुपैयाँ पाएको बयान दिएका छन् । भुजेल र अरू केहीले बयानकै क्रममा भेप, ब्रेक सु, पानी तान्ने मेसिन, अरू विद्युतीय उपकरण लगायतमा लुकाएर सुन भित्र्याइने गरेको बताएका छन् । राजस्व अनुसन्धान विभागले ब्रेक सुको आवरणमा भित्रिएको ६१ केजी सुन प्रकरणको अनुसन्धान गर्ने क्रममा ठमेल, बालुवाटार, लाजिम्पाटलगायत स्थानमा छापा मार्दा त्यसअघि नै तस्करीको सुन झिकिसकिएका खोक्रा ब्रेक सु मात्रै भेटिएको थियो ।
तीन साताको अनुसन्धानपछि संगठित अपराधको कसुरमा अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिइएको थियो । सीआईबीले पनि काठमाडौंका थप १० ठाउँमा छापा मार्दा सुन निकालिएका ब्रेक सु, सेभरलगायतका खोक्रा मात्रै फेला पारेको छ । ‘जुन वस्तुमा राखेर भन्सारबाट अवैध सुन पास गराउन सहज हुन्छ, त्यसैमा सुन जडान गरेर ल्याउने गरेको पाइयो, त्यसका लागि ५/६ वटा समूह भिन्नाभिन्नै भूमिका र जिम्मेवारीमा काम गरेको देखिन्छ,’ सीआईबी स्रोतले भन्यो, ‘भेप र ब्रेक सुको आवरणमा भित्रिएको तस्करीको सुन एउटै समूहको हो, व्यवस्थापनमा मात्रै फरक–फरक मानिस जोडिएका हुन् ।’ पक्राउ परेका विदेशीसँग नेपाली नागरिक र भारतीय आधारकार्ड पनि भेटिएको छ ।
ब्रेक सुको आवरणमा ल्याएको सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ अधिकृत, तस्कर, भरिया र भन्सार एजेन्टसहित २६ जना पक्राउ परेका छन् । जसमा ९ जना विदेशी नागरिक छन् । पक्राउ पर्नेमा ठमेलको एक रेस्टुरेन्ट सञ्चालक चिनियाँ दम्पती मी तियान र योङ वेन पनि छन् । उक्त रेस्टुरेन्ट तस्करीको सुनलाई तत्काल व्यवस्थापनका लागि प्रयोग गर्ने गरिएको खुलेको छ । पर्यटक र बिजनेस भिसामा आएका कम्तीमा २० चिनियाँ नागरिकलाई अध्यागमनको कालोसूचीमा राखेर खोजीकार्य भइरहेको स्रोतले जानकारी दियो । सुन तस्करी नियन्त्रण गर्न भारतले चलाएका ‘गोल्डेन ट्याप’ र ‘मेल्टन मेटल’ नामका विशेष अपरेसनमा पनि केही चिनियाँ पक्राउ परेका थिए । त्यसमध्येका दुई चिनियाँ नागरिक ली नङखाई र एलेक्स भन्ने याओ फुछङलाई सुन तस्करी प्रकरणमै सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दुवै चिनियाँ नागरिक भारतमा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका थिए । दुवै जना भेप र ब्रेक सुको सुन तस्करीसँग जोडिएको पाइएको छ । भारतमा सजाय भुक्तान गरेर नेपाल आएका दुवै जना तस्करीको पुरानै धन्दामा सक्रिय भएको अनुसन्धानबाट खुलेको हो । ईकान्तिपुर