राजविराजस्थित जिल्ला समन्वय समितिमा आयोजित जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश कुमार झा, शशीदेबी यादव, निरज मुक्ति, दयानन्द गोइत, कल्पना चौधरी, रामेश्वर यादव, सुचिता यादव, अभिनव यादव, संजय कुमार मिश्र, बिजय यादव, जिवछ मण्डल, चन्द्रनारायण यादवलगायत छन्।
पार्टीका कार्यकारिणी सदस्य तथा पूर्व मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा भएको भेलामा मधेस प्रदेशका निवर्तमान अर्थमन्त्री तथा राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह, प्रतिनिधिसभा सदस्य डा. सुर्यनारायण यादव, केन्द्रीय सदस्यहरू भिमराज यादव, विनोद चौधरी, चितरञ्जन यादव, राजनीतिक समिति सदस्य जगदेव यादव, प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकिशोर यादवलगायतले नेतृत्व वर्गले समयमै बुद्धि नपुर्याए प्रदेशभरि नै पार्टीले क्षति व्यहोर्नुपर्ने चेतावनी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारबाहीमा परी निलम्बित बिष्णुपुर गाउँपालिकामा अध्यक्ष उमेशप्रसाद यादवको अध्यक्षतामा भएको भेलामा स्थानीय तहमा निर्वाचित र निवर्तमान नगर प्रमुख र अध्यक्षहरू, पराजित नगर प्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरुको उल्लेख्य सहभागिता रहेको थियो।
भेलाका वक्ताहरूले जनतामा लोकप्रिय उमेश यादवलाई कारबाही गरी अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरालाई विराटनगरमा मेयरको उम्मेदवार बनाएको, उनी भने राजनीति नगरी जनकपुरमा बसेर मन्त्री बनाउने चलखेलमा लागेर पैसा कमाउन थालेको, कार्यकर्तासँग सरसल्लाह नगरी पार्टी नेतृत्वले पार्टीको नाम, चुनाव चिन्ह परिवर्तन गरेको र समाजवादी मोर्चा बनाएको, बन्द कोठामा बसेर कमिटी बनाउने गरेको आरोप लगाए।
पार्टी नेतृत्व आसेपासे, भजनमण्डली र गणेश परिक्रमा गर्नेहरूको कब्जामा परेको, पार्टीलाई कागजमा सिमित गरेको, सिमित व्यक्तिले कार्यकर्ताको भावना विपरित मनोमानी गरेको, कार्यकर्ताको संरक्षण गर्न नसकेको, संगठन निर्माण, वैठकहरु गर्न नसकेको, तानाशाही र हैकमवाद लादेको, इमान्दार कार्यकर्तालाई प्रयोग मात्र गर्ने गरेको, आफन्तहरुले मात्र राजनीतिक नियुक्ति पाउने गरेको, गैससजस्तै पार्टी सञ्चालन गरेको, पार्टीलाई गोजीमा राखेको, लोकतान्त्रिक पद्दतिको कुरा गर्नेलाई स्पष्टिकरण र जानकारी विना नै फेसबुकबाट कारबाही गरेको जस्ता आरोप लगाउँदै भेलाले समानान्तर कमिटी गठन गर्ने निष्कर्षमा पुगेको प्रदेश कमिटीका पूर्व उपाध्यक्ष शम्भु झाले बताए। अन्नपूर्णपोस्ट