काठमाडौं । क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन् । पुस १३ गते लामिछानेलाई बलात्कारी ठहर गर्ने न्यायाधीश शिशिरराज ढकालकै बुधबारको इजलासले ८ वर्षको जेल सजाय निर्धारण गरेको हो । यो मुद्वाको फैसलासंगै नेपाली क्रिकेटका स्टार खेलाडी लामिछानेको क्रिकेट यात्रामा पनि अब पूर्णविराम लागेको छ ।
क्रिकेटको ईतिहासमा यो देशले एउटा अमूल्य हिरा गुमाएको छ । जसको असर सिंगो क्रिकेट क्षेत्रलाई परेको छ । लामिछानेले विश्वका अधिकांश लिग खेलिसकेका छन् । उनले विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) मा आबद्ध हुँदै दिल्ली डेयरडेबिल्सबाट आफ्नो सनसनीपूर्ण बलिङ कौशल प्रदर्शन गरेका थिए । अष्ट्रेलिया, बेलायत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्डलगायतका देशका स्टार क्रिकेटहरुले भरिएको बिग बास लिगमा सन्दिप लामिछाने पनि अनुबन्ध भैसकेका खेलाडी हुन् ।
विश्मै किर्तिमान कायम हासिल गरिसकेका सन्दीपको भविष्य भने यतिबेला अन्धकारतर्फ धकेलिएको छ । राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गएका थिए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्ट्याउँदै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर लामिछानेलाई विदेश जान भने रोक लगाइएको थियो । लिग टुको खेलका लागि विदेश जान अनुमति माग्दै सन्दीप सर्वोच्च गएका थिए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १३ पुसमा क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । २५ पुसमा भने जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।