वीरगन्ज, २१ जेठ
अमेरीका र वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटमा भाग लिएको नेपाली टिमका व्याटर आसिफ शेखले शतक हानेमा वीरगन्ज महानगरपालिकाले उनलाई १ लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मूर्ली निवासी आसिफ, नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर र व्याट्म्यान हुन् ।
सोमबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सामाजिक सञ्जालमा पोष्ट गर्दै जारी टि–२० विश्वकपमा नेपालको राष्ट्रिय टोलीका सदस्य वीरगन्ज निवासी आसिफलाई शतक हानेमा १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा मेयर सिंहले लेखेका छन्– विश्वकपमा सहभागी वीरगन्जका छोरा आसिफ शेखको सम्मान र हौसला बृद्धिका लागि वीरगन्ज महानगरको तर्फबाट प्रत्येक खेलमा ३० रन जोड्दा ३० हजार रुपैयाँ, ५० रन जोड्दा ५१ हजार रुपैयाँ र १०० रन जोड्दा १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दछु ।
मेयर सिंहले वीरगन्जका शानका रुपमा नेपाली राष्ट्रिय टोलीमा समावेश आसिफको विश्वकपमा मनोबल बढाउनका लागि आँफुले यस्तो घोषणा गरेको बताएका छन् ।
यसअघि २०७९ साल चैतमा काठमाडौंमा सम्पन्न आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका आसिफ र उनका सहोदर भाई आरिफ शेखलाई वीरगन्ज महानगरले नै नागरिक अभिनन्दनसंगै एक एक थान यमहा एफजेडएफआइ मोटरसाइकल प्रदान गर्दै सम्मानित गरेको थियाो ।२ चैत २२०७९मा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।
जारी टि–२० विश्पकपमा नेपाल समूह डी मा रहेको छ । उक्त समुहमा नेपालसंगै नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।विश्वकपमा नेपालले आफनो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ गते खेल्दैछ ।