काठमाडौँ – राष्ट्रिय सभाले रेल्वे विधेयक-२०७९ बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा दफावार छलफल गरी बहुमतले पारित गरेको हो । रेल्वे विधेयकमा सत्ता पक्ष र प्रतिपक्ष दल एकमत देखिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सो विधेयकमा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । विधेयक संशोधनका लागि ९ जनाले छलफलमा भाग लिएका थिए । एमाले सांसद देवेन्द्र दाहालले रेल्वेबारे केही विषय संशोधन गर्नुपर्ने बताए ।
उनले रेल चलाउने व्यक्ति २५ देखि ५० वर्षको उमेरका मात्रै हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद विमला राई पौड्यालले रेल्वे प्रशासनप्रतिको नियुक्तिको विषयमा संशोधन हुनेपर्ने बताइन् । उनले प्रशासनमा शैक्षिक योग्यता इन्जिनियर मात्रै राखेको भन्दै व्यवस्थापन पढेका व्यक्तिले पनि प्रशासन चलाउन सक्ने भन्दै शैक्षिक योग्यता व्यवस्थापन राख्न आग्रह गरिन् ।
कांग्रेस सांसद प्रकाश पन्थले अपांगता भएकाहरुलाई रेलको यात्रामा भाडादरमा पूरै छुट र सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे । जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले अपांगता भएकाहरुलाई रेलको भाडामा छुट दिने व्यवस्था गर्ने प्रतिवद्धता जनाइन् । संशोधनकर्ताको तर्फबाट देवेन्द्र दाहालले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । त्यसपछि राष्ट्रियसभाबाट सो विधेयक बहुमतले पारित भयो ।