वासिङ्टन — अमेरिकी उच्च सुरक्षा अधिकारीले ‘चीनले ताइवानमाथि तत्काल आक्रमण गर्ने अवस्था नरहेको’ बताएका छन् ।
अमेरिकाले चीन–ताइवान अवस्थालाई नजिकबाट नियालिरहेका अमेरिकी जर्नेल मार्क मिलीले ‘चीनले ताइवानमाथि कुनै पनि समयमा आक्रमण गर्नका लागि क्षमता विस्तार गरिरहेको भए पनि त्यसका लागि राजनीतिक तहबाट निर्णय हुनुपर्ने बताएका हुन् ।
के चीनले ताइवानलाई आक्रमण गर्छ ? भनेर सोधिएको प्रश्नको जवाफमा अमेरिकी फौजका संयुक्त प्रमुख जेनरल मिलीले भने, ‘गर्न सक्छ, गर्छ र गर्नेछ भन्ने प्रमुख शब्द हुन् ।’ तर उनले तत्काल त्यसबारे कुनै संकेत वा चेतावनी नभएको बताए । ‘मलाई लाग्छ चीनले क्षमता विस्तार गरिरहेको छ । ताइवानमाथि आक्रमण गर्न तयारीका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सार्वजनिक भाषणमै सेनालाई भनेका छन्,’ मिलीले भने, ‘उनीहरूले गर्छन् कि गर्दैनन् भन्ने राजनीतिक निर्णय हो, यो नीतिगत निर्णय पनि हो र यसको निर्णय चीनले आफूलाई हुने नाफाघाटाको हिसाबमा गर्छ ।’
चीनले ताइवान आफूबाट छुटिएको एक प्रान्त भएकाले आवश्यक परेको खण्डमा शक्ति प्रयोग गरी गाभ्ने बताउने गरेको छ । त्यसका साथै अमेरिकालगायत पश्चिमा देशले ताइवानको स्वतन्त्रतालाई समर्थन गरेको बताउँदै चीनले त्यस्तो प्रयास निरर्थक बनाउने र आवश्यक परे कडा कदम चाल्न सक्ने बताउँदै आएको छ । जसका कारण चीन र अमेरिकाबीचको तनावसमेत बढेको छ । अमेरिका ताइवानको सबैभन्दा शक्तिशाली मित्रराष्ट्र हो ।
तनाव बढ्दै गएपछि चीनले ताइवानको हवाई रक्षा क्षेत्रमा लडाकु विमानहरू उडाउने क्रम बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसका कारण अमेरिकाले पनि ताइवानको सामुद्रिक क्षेत्रमा पानीजहाजहरू पठाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवाननजिकै लडाकु विमान उडाएर ‘चीनले खतरासँग खेलिरहेको’ चेतावनी दिएका थिए । चीनले आक्रमण गरे आफूहरूले ताइवानको प्रतिरक्षा गर्ने उनको भनाइ छ । बाइडेनको प्रतिक्रियापछि चीनले अमेरिकालाई चेतावनी दिँदै ‘ताइवान मामिलामा प्रतिबद्धता भुलेको’ बताएको छ । ताइवानलाई स्वतन्त्र घोषित गर्नबाट रोक्ने चीनको भनाइ छ ।
ताइवानसँग अमेरिकाको आधिकारिक दौत्य सम्बन्ध छैन । तर ताइवान सम्बन्ध ऐनका आधारमा अमेरिकाले हतियार बिक्री गर्दै आएको छ । चीनसँग दौत्य सम्बन्ध रहेको अमेरिकाले कूटनीतिक रूपमा चीनको एक सरकार रहेको कुरालाई मान्यता दिन्छ । एजेन्सीहरु बाट