२४ असार,काठमाडौं । नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले उत्पादित सिमेन्ट भारतमा निर्यात गरेको हो ।
शुक्रबार एक समारोह गर्दै पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो ।
पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट भारतमा गएको छ । सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था समेत गरेको छ ।
पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । त्यसैकारण अब भारतीय बजारमा निर्यात गर्न सुरु गरिएको कम्पनीले जनाएको छ ।
पाल्पा सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालका अनुसार बजारमा पीपीसी सिमेन्टको माग बढी छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले दैनिक करिब ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।