रवि लामिछानेमाथि छानबिन समिति नबनेसम्म संसद् चल्न सक्दैन : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति नबनेसम्म संसद् चल्न नसक्ने बताएको छ ।
गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिए लगत्तै संसद् भवनमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले छानबिन समिति गठनको पार्टी अडान कायमै रहेको बताउनु भएको हो । उहाँले गृहमन्त्री लामिछानेले विभिन्न सहकारीबाट ऋण लिएको प्रमाण रहेको समेत दाबी गर्नु भएको थियो ।
महामन्त्री गगन थापाले रास्वपाले गिरिबन्धु र एमालेले सहकारी ठगी प्रकरण नउठाउने सहमति गरेको आरोप पनि लगाउनुभयो । गृहमन्त्रीले आफू गृहमन्त्री हुँ भन्ने नै बिर्सेको थापाको टिप्पणी छ । विदेशीलाई सूचना बेचेको भनेर गृहमन्त्रीले आरोप लगाउनु आफैमा गम्भीर बहकाव भएको उहाँको भनाइ छ ।
महामन्त्री थापाले सबै काण्डको फाइल खोल्न पनि गृहमन्त्रीलाई चुनौती दिनुभयो । सहकारी छानबिनको कार्यादेशमा लचकता अपनाए आफू लोकतान्त्रिक समीकरण बनाउन तयार रहेको भन्दै गृहमन्त्रीले कांग्रेस नेताहरूलाई सन्देश पठाएको पनि थापाले आरोप लगाउनुभयो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेस र कांग्रेसका नेताहरूमाथि लगाएको आरोप निराधार रहेको भन्दै थापाले छानबिन गरेर देखाउन चुनौती पनि दिनुभयो । Kantipur TV