भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यि कार्डहरु बैंक तथा वित्तीय संस्थाले जारी गर्ने गर्छन । नेपालमा हाल तीन प्रकारका भुक्तानी कार्डहरु प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड । एटीएम मसिनबाट पैसा निकाल्न, किनमेल गरेपछि भुक्तानी दिन यी कार्डहरुको प्रयोग हुन्छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तीन किसिमका कार्ड जारी गर्न दिएको छ । यस्तै भुक्तानी सेवा प्रदायकले पनि प्रिपेड कार्ड जारी गर्न पाउने सुविधा दिएको छ । नेपालमा हाल प्रचिलत कार्ड क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड हुन् ।
ग्राहकको बैंक खातामा पैसा नभए पनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधासहितको कार्ड क्रेडिट कार्ड हो । यस्तो कार्डमा खर्च भएको रकम कार्डधारकले निश्चित समयपछि सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शुल्कसहित बुझाउनु पर्छ ।
‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ ।
क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्ने गर्छन । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकालिन्छ । तर नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।
बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्नेगरी ग्राहकको नाममा जारी भएको कार्ड डेविट कार्ड हो । यसलाई बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिन्छ । डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएमबाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ ।
यसको प्रयोग बैंक खातामा पैसा रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग भुक्तानी गर्न पनि हुन्छ । बैंकमा खाता नभए पनि लिन सकिने कार्ड प्रिपेड कार्ड हो । अर्थात कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिनेगरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्रप्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो ।
नेपालमा बैंक तथा वित्तीय संस्थाले खासगरी नेपाल र भारतबाहेक अन्य देशमा यात्रा गर्ने ग्राहकलाई यस्तो कार्ड जारी गर्ने गरेका छन् । जसमा डलर सटही सुविधा दिने गरिएको छ ।