माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।