काठमाडौं । संयुक्त राज्य अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्रामबारे मुख खोलेको छ । काठमाडौंमा केही सञ्चारमाध्यममा १० बुँदे मस्यौदा अमेरिकाले प्रस्ताव गरेको चर्चा भइरहेको र त्यसमै टेकेर संसदमा समेत चर्को आवाज उठेका बेला अमेरिकाले एसपीपीबारे प्रष्ट पारेको हो ।
‘नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य हो। नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन गर्दछ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ ।
स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम भएको उल्लेख गर्दै दूतावासले अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने स्पष्ट पारेको छ।
२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको र तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा नभएको दूतावाले जनाएको छ। ‘आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोसम्मका प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिका आफ्नो अग्रपङ्क्तिका उद्धाररकर्ताका रूपमा रहेका नेशनल गार्डहरूको उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता साटासाट गर्न चाहन्छ। यस प्रकारको सहकार्यको सहजीकरणका लागि एसपीपी प्रभावकारी माध्यम हो,’ दूतावासले भनेको छ।